काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको र जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका हुन् ।
उनले इतिहास बोकेको पार्टीको महत्त्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन पनि दिए । उनले नेपाली कांग्रेसले जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भूमिका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्ने गरेको बताए।
उनले भने, “हामी नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य हो । क्रियाशील सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्त्वको बारेमा हामीले अलि ख्याल राख्नु पर्यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पोलिटिकल्ली अधिकार दिलाउनमा अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्छन् भन्ने कुरा बिर्सिनु हुँदैन ।”