चितवन। चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।
यही पुस ११ गतेदेखि सुरु हुने १८औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।
यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया सुरु हुनेछ । अहिले यो प्रक्रिया सुरु गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ ।
महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्ती दौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिए । यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उनले बताए ।
यस्तै पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया जस्ता कार्यक्रममा गरिनेछ । यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने आयोजकले जनाएको छ ।
अहिले पर्यटक कम आउने समय भएकाले पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमबाट अहिले भइरहेका पर्यटकभन्दा ३० प्रतिशत बढी पर्यटक आउने अनुमान गरिएको छ ।
अहिले सौराहाका होटलमा ३० प्रतिशत मात्र पर्यटक रहेका छन् । यसलाई बढाउन यो कार्यक्रम फलदायी हुने उहाँले बताउनुभयो । हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाको बसाइ लम्ब्याउन सहज हुने उनको भनाइ छ ।
मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संस्कृति र पर्यटनलाई जोड्न यो महोत्सव सफल हुने बताए । हात्तीलाई जबरजस्ती विभिन्न खेलमा सहभागी गराइएको भन्दै पशु अधिकारवादीले विरोध गरेपछि सङ्घले कार्यक्रमलाई केही फेरबदल गरेको हो ।
कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको चौरमा गर्ने विषयमा पनि केही संरक्षणकर्मीले आवाज उठाएका छन् ।