काठमाडौं। नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ। काठमाडौंमा सोमबार भएको कार्यक्रममा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सघाई जियान फुड प्रालिबीच उक्त सम्झौता भएको हो।
सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुङ्गा सावित हुने बताए।
‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुङ्गाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौँ। नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा, भैँसी पालनका लागि थप प्रोत्साहित गरेको छ,’ उनले भने।
नेपालमा राँगा, भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने उनले बताए। नयाँनयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरूलाई आकर्षित गर्न सकिने उनको भनाइ छ।
‘हामीले युवालाई पनि यस पेसामा जोडेर पुस्तान्तरण गर्न जरूरी छ। पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरूलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ,’ उनले भने। चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनले बताए।