
काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी छ ।
आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार हिजोको बैठकमा नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको थियो ।
उनले भने, ‘मंगलबारको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गरिने छ ।’
बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैँ तयार रहेको समेत बताए ।
उनले बैठक अगामि निर्वाचनहरुमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए ।