काठमाडौं। वामदेव गौतमलाई पार्टीमा भित्र्याउन नेकपा (एकीकृत समाजवादी) ले संवाद अघि बढाएको छ। २०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
तर अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए। त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे। उनी राष्ट्रिय सभा सांसद पनि छन्।
२०७४ को चुनावमा बर्दियाबाट चुनाव हारेका उनलाई नेकपा (एमाले–माओवादी) सरकारका पालमा राष्ट्रिय सभा सदस्यमा सिफारिस र मनोनीत गरिएको थियो। २०७९ असार १४ गते गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। तर यो अभियानले पार्टीको रूप भने लिन सकेन।
२०८० जेठमा गौतमले पुरानै पार्टी एमालेमा फर्कन चाहेको अभिव्यक्ति दिएका थिए। त्यसबेला संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले एमालेले बोलाउने हो भने आफूसहित नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान समाहित हुने बताएका थिए।
त्यसबेला उनले आफ्नो सदस्यता एमालेमै रहेको दाबीसमेत गरेका थिए। एमालेले ७० वर्षे उमेर हद हटाउनुपर्ने मागसमेत गरेका थिए। एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाउने निर्णय गरिसकेको छ। २०८० जेठमा भएको सचिवालय बैठकले १० औं महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको थियो।
वामदेवको मागअनुसार पनि एमालेले ७० वर्षे उमेर हद हटायो तर पार्टीमा उनलाई भित्र्याएन। गौतमले बालकोट पुगेर पटक–पटक अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए, तर उनलाई एमाले फर्कने अवसर जुटेन।
गौतम अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को सम्पर्कमा छन्। उनीसहित नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा रहेकाहरूलाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादी पनि इच्छुक देखिन्छ। यसबारे गत मंसिर २६ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा समेत छलफल भएको छ।
‘केही पार्टीमा रहेका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ, आजको बैठकले उहाँहरूसँग संवाद गर्ने गरी तयारी गरेको छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने। वामदेव गौतमलाई पार्टीमा प्रवेश गराउनेबारे बैठकमा छलफल गरिएको हो भन्ने प्रश्नमा खतिवडाले भने, ‘उहाँ धेरै सकारात्मक हुनुहुन्छ, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न संवाद गर्ने निर्णय स्थायी कमिटीले गरेको छ।’
साथै स्थायी कमिटीले २४ सदस्यीय केन्द्रीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय रहने निर्णय पनि गरेको छ। नेताहरूको कार्यविभाजनबारे दुई दिनपछि निर्णय गरिने उनले बताए। एकीकृत समाजवादीले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल पनि गठन गरेको छ।