रौतहट– मलखाद सिँचाई लगायत किसानहरूको विभिन्न समस्या समाधानको लागि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले रौतहटका सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
किसान महासंघ क्रान्तिकारीका जिल्ला इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा गएको टोलीले सिडियो हिरालाल रेग्मीमार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन १८ बुन्दे ज्ञापन पत्र बुझाएको हो।
कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता छ तर किसानको उचित मूल्याँकन सहित कृषी पेसालाई मर्यादित एवं विकासमूलक बनाई देशको सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
खेती किसानी गर्ने किसानलाई पेसाबाट उठीबास बनाई अपहेलित बनाई, कृषक लाई तिरस्कार भइरहेको अवस्थामा पेसाबाट पलायन हुनबाट रोक्न सम्बधित निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन बाध्य भएको जिल्ला इन्चार्ज यादवले बताएका छन्।