जोडिनुहोस
  • होमपेज
  • पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी

पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी

दोलखा। असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र पारिएको छ । पुस १० गतेको समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी सुरु गरिएको छ ।

विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने(डिस्यान्डर) पोखरीको मर्मत अन्तिम चरणमा रहेको छ । जसमध्ये बायाँ तर्फको डिस्यान्डर मर्मत सकिए लगत्तै बाँध स्थलबाट सिधै पानी पठाएर विद्युत् उत्पादनको तयारी थालिएको हो ।

बायाँतर्फको डिस्यान्डर मर्मत सकिन लागेकाले पुसको १० गते तामाकोशी पानी सिधै पठाएर विद्युत् उत्पादन गरिने विद्युत् केन्द्रका प्रबन्धक पूर्ण गोपाल रञ्जितलेलाई बताए । पहिराले विद्युत् केन्द्र सञ्चालन गृह पूर्णरुपमा क्षति गरेको थियो ।

यस्तै बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र प्रसारण लाइनको ४६ नम्बर टावरमा क्षति गरेको थियो । जसमध्ये टावर निर्माण सकिएको छ भने क्षति गरेको बायाँतर्फको डिस्यान्डर मर्मत सकिएपछि पानी भरिने उनले बताए । पहिराले क्षति गरेको हेडवर्क्स कन्ट्रोल सेन्टर भने विद्युत् उत्पादन भएपछि मात्रै निर्माण गरिने उनले बताए ।

तत्कालका लागि जलासय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको बहाव बराबरको पानी सिधै विद्युत् गृहमा पठाएर विद्युत् उत्पादन हुने उनले बताए ।
‘८÷९ गतेबाट बाँध स्थलमा पानी भर्ने काम सुरु हुन्छ, २ मध्ये बायाँतर्फको डिस्यान्डर मर्मत आजभोलि सकेर सञ्चालनमा आउँछ,’ उनले भने, ‘विगतमा जस्तो पूर्णरुपमा बाँध स्थलबाट पानी पठाइँदैन खोलामा जति छ, उति नै पानी पठाएर विद्युत् जेनेरेट गर्छौँ ।’

उनका अनुसार पुस महिनामा तामाकोशीबाट १ सय २५ देखि ३० मेगावाट उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि घट्ने उनले बताए । तामाकोशी जलविद्युत् केन्द्रलाई मर्मत गरेर पूर्णरुपमा सञ्चालनमा ल्याउन कम्तीमा थप १ महिना भन्दा बढी समय लाग्ने देखिएको तामाकोशी जलविद्युत् केन्द्रका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए ।

‘बालुवा थिग्र्याउने पोखरी पूर्णरुपमा मर्मत गर्न अझै एक महिना लाग्छ,’ उनले भने, ‘पहिरोले क्षतिग्रस्त बनाएको विद्युत् सञ्चालन गृह निर्माण गर्न त्यो भन्दा पनि बढी समय लाग्ने छ, डिस्यान्डर मर्मत गरेर विद्युत् उत्पादन पूर्ण क्षमतामा गर्ने तयारी भइरहेको छ ।’

आउँदो साताबाट राष्ट्रिय प्रसारण लाइनमा १ सय ३० मेगावाटसम्म पठाउने सकिने उनले बताए । ‘तामाकोशी उत्पादन बन्द हुँदा देशभर विद्युत् मागमा असर परेको छ,’ उनले भने, ‘हामी दिनरात नभनी काममा छौँ, पिक आवरको माग धान्ने विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।’

यही रफ्तारमा मर्मतको काम भएर पुस १० गतेबाट विद्युत् उत्पादन हुने उनले विश्वास लिए । ‘तत्कालका लागि मागअनुसारको विद्युत् उत्पादन नभए पनि अर्को साताबाट १ सय ३० मेगावाट राष्ट्रिय प्रसारण लाइनबाट तामाकोशी विद्युत् जानेछ,’ उनले भने, ‘माघ पहिलो साताबाट तामाकोशीले पूर्ण क्षमतामा पिक आवरमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।’

पहिरोले माथिल्लो तामाकोशी विद्युत् केन्द्रको बाँध स्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा क्षति पुगेको थियो । हाल क्षति भएका सबै संरचनाको मर्मत भइरहेको र नयाँ निर्माण गर्नुपर्ने संरचनाका लागि बोलपत्रको तयारी भइरहेको उनले बताए । विद्युत् सञ्चालन नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो ।

तामाकोशी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । गएको असोजको अविरल वर्षाले तामाकोशी नदीको बहाव बाँध स्थलमा ४६१ क्युसेक पुगेको थियो । तामाकोशीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ ।

सोहीअनुसार असोज ११ गते जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । माथिल्लो तामाकोशीले सिभिल, इलेक्ट्रिकल, मेकानिकल लगायतका इक्युपमेन्टहरू (इलेक्ट्रिक र हाइड्रो इक्विपमेन्ट) गरी एक अर्ब ८० करोड रुपैयाँको बिमा दाबी गरेको उनले बताए । तामाकोशीले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता छ ।

तामाकोशी बन्न समय लाग्ने भएपछि हिउँदको लोड व्यवस्थापन गर्ने नेपाल विद्युत् प्राधिकरणलाई चुनौती थपिएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपको रुपमा तामाकोशीलाई चलाउँदै आएको छ ।

अर्धजलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोशी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घण्टा पिकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका