जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं। चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील उपकरण प्रदान गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज काठमाडौंमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् ।

चन्द्रागिरि– ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार विसं २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ शय्याको सो अस्पतालले प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिराखेको छ ।

साथै अस्पतालले पछिल्लो समय मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवं मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ ।

अर्कोतर्फ चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिराखेको छ । यस कार्यक्रमबाट स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायत), परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइराखेको छ ।

चन्द्रागिरि–४ थानकोटमा नै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा एक अर्बमा प्रसूति विशेषज्ञ अस्पताल समेत निर्माण हुँदैछ । यसका लागि जर्मन विकास बैंकले बजेट निकासा गरिसकेको जनाइएको छ ।

धेरै टिप्पणी गरिएका