काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र टोटनहमबीचको खेलमा गोलवर्षा भएको छ। गएराति टोटनहमको घरेलु मैदानमा भएको खेलमा कुल ९ गोल भएका हुन्।
लिभरपुलले टोटनहममाथि ६ गोल गर्दा टोटनहमले तीन गोल फर्कायो। लुइस डियाजले २३ मिनेटमा गोल गरेपछि खेलमा गोल वर्षाको सुरू भएको थियो।
३६ मिनेटमा अलिस्टरले लिभरपुलको अग्रता दोब्बर पारे। ४१ मिनेटमा टोटनहमका जेम्स म्याडिसनले गोल गर्दै लिभरपुलसँगको दूरी घटाए।
तर डोमिनिक जोबोस्लाईले पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै गोल गरे। त्यसपछि दोस्रो हाफको ५४ र ६१ मिनेटमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले गोल गरे।
७२ मिनेटमा टोटनहमका डेजन कुलुसेवस्कीले गोल गरे। लगत्तै ८३ मिनेटमा डोमिनिक सोलांकेले टोटनहमका लागि गोल गरे। ८५ मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल ६–३ गोलले विजयी भएको हो।
जितसँगै लिभरपुलले १६ खेलबाट ३९ अंक जोड्दै शीर्षस्थानलाई बलियो बनाएको छ। एक खेल बढी खेलेर दोस्रो स्थानमा रहेको चेल्सीको ३५ अंक छ। आर्सनल ३३ अंकसहित तेस्रो स्थानमा छ।