थपिएको समयमा पनि काम पूरा नगरेपछि ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने भएको छ । थपिएको म्याद अनुसार पुसको ८ गते अर्थात् हिजोसम्ममा फ्लाईओभरको सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर अहिलेसम्म ८२ प्रतिशत मात्रै काम सकिएको छ ।
सडक विभाग माताहतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर कम्पनीले आजदेखि दैनिक कुल ठेक्का रकमको शून्य दशमलव ८८ प्रतिशत जरीवाना तिर्नुपर्नेछ । ग्वार्को फ्लाईओभरको ठेक्का रकम १७ करोड ६ लाख रुपैयाँ रहेको छ ।सम्झौता अनुसार कम्पनीले २०८० सालको फागुन ११ गतेभित्रै फ्लाईओभरको काम सक्नुपर्ने थियो तर काम नसकिएपछि १० महिना म्याद थपेर हिजो अर्थात् पुसको ८ गतेलाई पुर्याएकोमा काम अलपत्र नै छ ।
इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलमा सम्झौता भएकाले अब म्याद थप नहुने केन्द्रले जनाएको छ । अबको तीन महिनामा पनि काम नसकेमा जरीवाना रकम बढ्दै जानेछ ।