जोडिनुहोस
  • होमपेज
  • मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार, चार जना पक्राउ

मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौं। मोरङ जिल्लाको जहदा गाउँपालिका–३ खदरा बस्तीकी २२ वर्षीया दलित महिला सामूहिक बलात्कारको घटनामा परेकी छिन् । मंगलबार बिहान शौच गर्न गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको, हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरेका थिए ।

उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा भर्ना गरिएकी ती महिलाले साँझ होसमा आएपछि आफूमाथि अपहरण शैलीमा बाँसघारीमा लगेर सामूहिक बलात्कार गरिएको बताएकी छन् । पीडित महिलाको बयानका आधारमा प्रहरीले चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।

कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले बाँसघारीमा पीडित महिलालाई देखेपछि गाउँलेलाई बोलाएर उद्धार गरिन् । गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि घटनास्थलबाट अनुसन्धान सुरु गरिएको हो । मुसहर समुदायको बाहुल्य रहेको खदरा बस्तीमा काखे बच्चासहित बस्दै आएकी ती महिला झिसमिसेमै घरदेखि करिब १५० मिटर टाढा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् ।

उनीलाई उद्धार गर्दा कपडा च्यातिएको अवस्थामा फेला पारिएको थियो भने शरीरभरि नीलडाम देखिएका थिए । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ । हाल उनलाई विराटनगरस्थित एक आश्रयस्थलमा राखिएको छ ।

मंगलबार प्रहरीले कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको छ । बुधबार बिहान थप एक जना अभियुक्त पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार पीडितको बयानका आधारमा सामूहिक बलात्कार पुष्टि भएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका