देश
सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
सोलुखुम्बु। सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने सोलुखुम्बुको लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।
खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नम्बर–२ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा २५ किलोमिटर सडक निर्माण भएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि शुरू भएको थियो ।
परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना–सिल्क पावर र दूधकोशी छैटौंसँग साझेदारी गरेको छ । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ ।
दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नम्बर–२ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य गाडीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ ।
स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
मौसमका कारण हवाई उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्याको पनि अब अन्त्य हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।