जोडिनुहोस
  • होमपेज
  • प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने, ‘सुखद सन्देश प्रवाह हुने’

प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने, ‘सुखद सन्देश प्रवाह हुने’

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने भएको छ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिनुभयो । २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाको बिजुली बङ्गलादेश पठाउने उहाँले बताउनुभयो ।

बङ्गलादेशमा निर्यात गरिने बिजुलीका लागि विभिन्न आयोजनालाई भारतले स्वीकृत गरेसँगै बिजुली पठाउने तयारी भएको हो । बङ्गलादेशमा बिजुली पठाउन पनि आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । तर यो वर्षका लागि भोलि मात्रै बिजुली बङ्गलादेश निर्यात हुनेछ । किनकि नेपाल, भारत र बङ्गलादेशबीच जुनको १५ तारिखदेखि नोभेम्बरको १५ तारिखसम्म मात्रै बिजुली निर्यातको सम्झौता भएको छ ।

सम्झौता अनुसारको अन्तिम दिन भोलि बिजुली बङ्गलादेशमा पठाएर सुखद सन्देश दिन खोजिएको प्रवक्ता घोषले बताउनुभएको छ । भोलिपछि अब आउँदो जुनको १५ तारिखमा मात्रै बङ्गलादेशमा बिजुली निर्यात हुनेछ । नेपालले बिजुली निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्न गएको असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच सम्झौता भएको थियो । सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म बिजुली पुर्‍याउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको ह्विलिङ चार्ज अर्थात् प्रसारण लाइन बापतको शुल्क नेपाल विद्युत् प्राधिकरणले र मुजफ्फरपुरबाट बङ्गलादेशसम्मको शुल्क बङ्गलादेशले बेहोर्ने सहमति भएको छ । कति बिजुली निर्यात भयो भनेर यकिन गर्न मुजफ्फरपुरमै मिटर रहनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV