प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आकष्मिक रुपमा बोलाइएको यो बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुँदैछ ।
एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । गत पुस ११ गते पूर्वउपाध्यक्ष डा। भीम रावललाई पार्टीबाट निष्कासित गरेयता यो पहिलो बैठक हो । पुस ११ गतेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
पुस ११ मा एमालेले संगठित सदस्यबाटै निकालेपछि पूर्वउपाध्यक्ष रावलले बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशसहित ७४ वटा प्रश्न सोधेका थिए । रावल एमाले अन्य नेताप्रति नरम तर ओलीप्रति आक्रमक देखिएका थिए ।
उनले बुधबार नै अध्यक्ष ओलीको जिल्लाबाट ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । रावलले लामो वक्तव्यमार्फत ओलीप्रति कडा आलोचना र प्रश्न गरेका छन् ।
पार्टीको नवौँ महाधिवेशनदेखि सरकार सञ्चालनसम्म ओली हरेक क्रियाकलापको विरोध गरेका रावलले आफ्ना प्रश्नको उत्तर दिन नसके एमाले ०८४ मा पत्तासाफ हुने चेतावनी दिएका थिए । एमाले सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ । दुई नेतृको कारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।