जोडिनुहोस
  • होमपेज
  • सत्य साबित हुदैँ बालेनको बोली

Breaking News

सत्य साबित हुदैँ बालेनको बोली

सिंहदरबारको आगनमै अन्तिम सास फेर्दै वैद्यखाना

  • Sagarmatha TV
  • शुक्रबार, पुस १९, २०८१
सत्य साबित हुदैँ बालेनको बोली

पुष्कर खतिवडा

देश कसरी डुब्यो हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ, यो भनाई थियो गत कार्तिक १४ गते धन्वन्तरी दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा काठमाडौंका मेयर बालेन शाहको । बालेनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको वैद्यखाना थला परेको भन्दै त्यसबेला वैद्यखानाको समिती र सरकारको खुबै आलोचना गरेका थिए। हुनपनि, नेपाल प्राकृतिक सम्पदाले भरीपुर्ण देश हो। यसमा कुनै दुई मत छैन । नेपालमा अहिले पनि हजारौ प्रकारका जडिबुडी पाइन्छन्। तर विडम्बना भनौं, जडीबुटीकै धनी देश नेपालमा स्वदेशी आर्युवेदिक औषधी खोज्यो भने पाउन मुस्किल पर्छ ।

नेपालमा स्वेदशीको तुलनामा विदेशी कम्पनीका आर्युवेदिक औषधीहरु पाइन्छ। जबकी नेपालमै दक्षिण एशियामै आयुवेर्दिक औषधि उत्पादन गर्ने सबैभन्दा पुरानो संस्था सिंहदरबार वैद्यखाना छ।प्रताप मल्लकै पालामा स्थापना भएको सिंहदरबार वैद्यखानाको करीब ४ सय बर्ष पुरानो इतिहास छ । तर यसका बावजुद अहिले यो ओझेलमा परेको छ । जसका कारण विदेशी आर्युवेदिक औषधीले नेपाली बजार पाइरहँदा नेपालको गुणस्तरीय र सस्तो वैद्यखानाको उत्पादनले भने अहिलेसम्म नेपाली बजार त के नेपाली माझ राम्ररी चिनीने अवसर समेत पाएको छैन ।

भारतीय विभिन्न आर्युवेदिक कम्पनीका उत्पादनले नेपालमा राम्रो बजार पाएको छ । तर नेपालमा दक्षिण एसियाकै पुरानो सरकारी स्वामित्वको आर्युवेदिक औषधी उत्पादक वैद्यखाना छ भन्ने कुरा नै धेरैलाई थाहा छैन । जे जतिलाई थाहा छ उनीहरुले पनि स्वदेशी आर्युवेदिक औषधी किन्न पाउँदैनन्।एकपछि अर्काे गर्दै सिंहदरबार वैद्यखानामा बढेको बेथिती र सरकारी उदाशिनताका कारण अहिले यो बन्द हुने गरी धराशयी बन्न पुगेको छ ।

नेपाली बजारमा आर्युवेदिक औषधीको माग बढ्दो छ। तर यो माग धान्न वैद्यखानाले सकेको छैन।सरकारले नै वेवास्ता गरेको यो वैद्यखानाको संरक्षणमा अहिलेसम्म कुनै पनि राजनीतिक दलहरुले चासोसम्म दिएका छैनन। जसका कारण यो वैद्यखाना सिंहदरबारकै आगनमै भएर पनि धराशयी बन्न पुगेको हो । विदेशी आर्युवेदिक औषधी उत्पादक कम्पनीहरुका उत्पादनले नेपालमा बजार पाउँदा र घरघरमा परिचय बनाएर हावी हुँदै गर्दा स्वदेशमै भएको वैद्यखाना भने धरासयी बनेको छ। हुनत वैद्यखानाबाट अहिले पनि २५ हाराहारीमा आर्युवेदिक औषधी बन्न थालेको छ । तर कुनै बेला डेढ सय भन्दा बढि प्रकारका आर्युवेदिक औषधी उत्पादन गर्ने वैद्यखाना केवल २५ प्रकारका औषधीमा झर्नुले पनि यसको हैसियतलाई पुष्टि गर्छ।

नेपाल आफैमा आर्युवेदिक औषधीको मुल केन्द्र हो । यसलाई अधिकतम सदुपयोग गर्न सके मुलुकले मनग्गे आम्दानी गर्न सक्छ । साथै सिंहदरबार वैद्यखाना पनि सबल बन्न सक्थ्यो । तर सरकारको चासो नहुँदा स्वेदशी वैद्यखाना धरासयी बनेको हो । निजी क्षेत्रको तुलनामा वैद्यखानाका उत्पादनको मूल्य र गुणस्तर राम्रो छ, माग पनि छ तर ति औषधीको उत्पादन गर्न वैद्यखाना सक्दैन । वैद्यखानाले खोजे अनुसारको मात्रामा गुणस्तरीय जडिबुटी पाउँदैन । बरु भारतका व्यापारीले नेपालका जडिबुटी सहजै पाउँछन्। तर नेपाली वैद्यखानाले तिनको खरिद समयमै गर्न सक्दैन ।

यसरी न त सरकारको चासो न त कुनै नेताको प्राथमिकतामा परेको वैद्यखाना अहिले बेहाल अवस्थामा छ। आयुवेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी वैद्यखानाको उत्पादन प्रक्रिया पनि आधुनिक छैन । त्यसमाथि उत्पादन पनि न्यून छ । सरकारी उदासिनताकै कारण औषधी उत्पादन नभएको र दिनदिनै सिंहदरबार वैद्यखाना धरासयी बन्दै गएको भन्दै आरोप पनि लाग्दै आएको छ। यतिमात्र होइन, विदेशी आर्युवेदिक औषधीले नेपालमा विज्ञापन प्रचार गर्दा सरकारले भने आफ्नै उत्पादनको बजार बढाउन र यसको जानकारी फैलाउन चासो दिएको छैन । यहि कारणले वैद्यखानाले नेपाली ग्राहकसंगै विश्वास गुमाउन पुगेको छ । त्यसमाथि राजनीति दाउपेच, आन्तरिक किचलो, आर्थिक तथा नीतिगत समस्यालगायतका कारणले पनि अहिले वैद्यखानाको स्तर खस्किएको छ ।

हुन पनि २०५१ सालमा सरकारले स्वामित्वमा लिएको वैद्यखानामा हालसम्म २० भन्दा बढि पटक प्रबन्ध निर्देशक फेरिए । फेरीएका निर्देशकले काम गर्न पर्याप्त समय पनि पाउँदैनन् । केहि निर्देशक भने बारम्बार राजनैतिक शक्ति र पहुँचको आडमा वैद्यखानाको नेतृत्वमा पुग्दै आएका छन्। तर बिडम्बना वैद्यखानाको स्तर चाँहि उठ्न सकेन। अहिले भने समयमा कच्चा पर्दाथ भित्र्याउन नसक्नु र एउटै कार्यकारीले पूर्ण कार्यकाल काम गर्न नपाउनु वैद्यखानाको नियती बनेको छ।

हाल वैद्यखानाको नेतृत्वमा डा.प्रदिप केसी छन्। गत बर्षको दशैं अघिसम्म वैद्यखानामा केवल ३ थरीका औषधी उत्पादन भइरहेको अवस्थाबाट शुन्यमा झर्दा तत्कालिन नरदेवी अस्पतालका प्रमुख डा.प्रदीप केसीलाई वैद्यखानाको नेतृत्व गर्न पइएको थियो । उनले वैद्यखाना उकास्न केहि मेहनत गरेको त छन् । तर मन्त्री फेरिने बित्तिकै उनको हात बाधिन पुगेको छ । ४ महिनासम्म कर्मचारीले तलव नपाएको स्थितीमा नेतृत्व सम्हाल्न पुगेका केसी वैद्यखाना पुगेपछि केहि आर्युवेदिक औषधीको उत्पादन शुरु भएको छ । तर यो पर्याप्त छैन । तुलनात्मकरुपमा कम देखिए पनि कतिपय औषधीहरुको उत्पादन शुरु भएको भन्दै रोकिएका च्यवनप्राशलगायत औषधी पनि चाँडै बन्ने वैद्यखानाले दाबी गरेको छ ।

वैद्यखानाको समस्या केवल औषधी उत्पादन नहुनु मात्र छैन,स्वास्थ्य मन्त्रालयले आफू निकट कार्यालय प्रमुख पठाउने चलनका कारणले पनि यो धराशयी बनेको आरोप लाग्दै आएको छ। तर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने नेपालको मौलिक विधिबाट चलेको वैद्यखाना जोगाउन आफुहरु लागिपरेको भन्दै आरोपको खण्डन गरेका छन्। १५० प्रकारका औषधी उत्पादन गर्ने संस्थाले १४ प्रकारका २५ औषधी उत्पादनमा झर्दा आफुहरु पनि चिन्तित रहेको पौडलले बताएका छन् ।

हुनत, विदेशी ब्राण्डका आर्युवेदिक औषधी भित्र्याउन स्वदेशी वैद्यखाना डुबाउन सरकादेखि केहि तत्व सक्रिय भएको पनि आरोप छ। निःशुल्क परामर्श र गुणस्तरीय आर्युवेदिक औषधी बिक्रि गर्ने वैद्यखाना प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको थियो ।जसलाई राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारियो र पछि जुद्धशमशेरको पालामा सिंहदरबारमा सारेपछि सिंहदरबार वैद्यखाना नामाकरण भएको थियो।जुद्धशमशेरको पालामा राजदरबार, प्रधानमन्त्री र उनीहरूका नातागोता वा आसेपासेले मात्रै वैद्यखानाको औषधि प्रयोग गर्थे।

मुलुकमा प्रजातन्त्र आइसकेपछि २००९ सालदेखि सर्वसाधारणले पनि वैद्यखानाको औषधि प्रयोग गर्न पाए।२०५१ सालदेखि सरकारले यसलाई विकास समितिमा परिणत गरेको छ। तर यसको संरक्षणमा चाँहि चासो दिएको छैन।जसका कारण दक्षिण एसियाकै पुरानो सिंहदरबार वैद्यखाना पनि कुनैदिन बन्द नहोला भन्न सकिने अवस्था छैन।

भिडियो रिपोर्टः

प्रचलन खबर

धेरै टिप्पणी गरिएका