जोडिनुहोस
  • होमपेज
  • गाजाको आवासीय क्षेत्रमा इजरायलको हवाई आक्रमण तीव्र, एकै दिन ८८ जनाको मृत्यु

गाजाको आवासीय क्षेत्रमा इजरायलको हवाई आक्रमण तीव्र, एकै दिन ८८ जनाको मृत्यु

काठमाडौं। युद्धविराम पहलबीच इजरायलले गाजामा आक्रमणलाई थप तीव्र बनाएको छ । गाजाको आवासीय क्षेत्रमा जारी हवाई आक्रमणमा हिजो मात्रै ८८ जनाको मृत्यु भएको छ भने पछिल्लो तीन दिनमा कम्तीमा २ सय जना मारिएका छन् ।

हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय क्षेत्रमा कम्तीमा सयवटा हवाई आक्रमण तथा गोलाबारी गरेको हो । इजरायलले निहत्था नागरिक र आवासीय क्षेत्रमा ’खतरनाक र क्रूर’ आक्रमण गरेको हमास अधिकारीको भनाइ छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्यालेस्टानी समूह हमासले सन् २०२३, अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेयता जारी युद्धमा ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा एक तिहाइभन्दा बढी बालबालिका छन् । अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको प्यालेस्टिनी अधिकारीको भनाइ छ ।

दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइरहेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताइएको छ ।

गाजामा युद्धविराम र बन्धक रिहाइका लागि गत शुक्रबारदेखि वार्ता पुनः सुरू भइसकेको छ । वार्ताका लागि इजरायली टोली शुक्रबार नै कतार पुगेको थियो ।

हमासले पनि शुक्रबारदेखि युद्धविराम वार्ता सुरू भएको र सम्झौतामा पुग्न गम्भीर रहेको जनाएको छ । पछिल्लो चरणको वार्ता पूर्ण युद्धविराम, गाजापट्टीमा रहेका सेनाको फिर्ती र कार्यान्वयनको विवरण र विस्थापितलाई घर फर्काउने विषयमा केन्द्रित हुने हमासले जनाएको छ । इजरालयका पछिल्ला आक्रमणसँगै वार्ताको वातवरण भने बिथोलिने चिन्ता थपिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका