
काठमाडौं । त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामी जय ट्रफी पुरुष इलाइट कप–२०२५ मा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । सोमबार पर्साको वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा सोमपालले अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५० रन पूरा गरेका हुन् ।
उनले ७३ बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरे । आइतबारदेखि मधेसका दुई सहर जनकपुर र वीरगन्जमा सुरु प्रतियोगिताको यो पहिलो अर्धशतक हो ।
खेलको दोस्रो इनिङ जारी रहँदा ३५ ओभरमा आर्मीले सात विकेट गुमाएर १२९ रन बनाएको छ । सोमपालसँगै क्रिजमा रहेका विवेक यादवले रनको खाता खोलेका छैनन् ।
पहिलो इनिङमा आर्मीले १२१ रन बनाएको थियो । पहिलो इनिङमा पुलिसले १२५ रन बनाएको थियो ।