जोडिनुहोस
  • होमपेज
  • बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको होे ।

समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ । अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उक्त दफामा प्रावधान छ ।

यस्तै, आवेदन दिन सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।

आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ ।

यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । सदस्यमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा छन् ।

हालका अध्यक्ष सूर्य सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए । अर्थ मन्त्रालयले अर्काे अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ । सिलवालको कार्यकाल आउँदो माघ १९ गते सकिँदै छ ।

धेरै टिप्पणी गरिएका