
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो, अब उनीबारेको मुद्दामा थुनछेक बहस हुने छ ।
रवि अदालत खुल्नुअघि नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समयअभावका कारण आइतबार उपस्थित भएका हुन् ।
सभापति लामिछानेको मुद्दामा आजै थुनछेक बहस हुने बताइएको छ । लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।