जोडिनुहोस
  • होमपेज
  • बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने २९ वर्षीय सुजन गिरी, पाल्पाको रम्भा गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–३ बस्ने ५८ वर्षीय सिरबहादुर बराल र काठमाण्डौको तारकेश्वर नगरपालिका–४ बस्ने ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।

सम्पूर्ण र सुजनले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६१ लाख ६५ हजार, सिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र सरस्वतीले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

धेरै टिप्पणी गरिएका