जोडिनुहोस
  • होमपेज
  • लप्सीफेदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा

लप्सीफेदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो ।

झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् । काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो । प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा बेला–बेला तनाव हुने गरेको छ । यसअघि २०८० साल मंसिरमा पनि स्थानीयसँग झडप हुँदा सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।

लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।

मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिसकेको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ । तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान (समान, नेपाल) को अगुवाइमा सबस्टेसन निर्माणमा अवरोध भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका