
काठमाडौँ। ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कुख्यात गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि छन्। चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ साल वैशाख २६ मा महाराजगन्जबाटै पक्राउ परेका थिए।
उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङका अनुसार रेष्टुरेन्ट र क्लबहरूमा झैझगडा र हप्ता असुलीका गुनासोपछि अपरेसन चलाइएको हो। काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बिहीबार रातभर अपरेसनमा सक्रिय थिए।
यसअघि साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका थिए। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन्। उनी नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भई हाल टोखा सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। सानुभाइ, प्रहरी इन्काउन्टरमा मारिएका कुमार ‘घैँटे’का सहयोगी मानिन्छन्।
प्रहरीले पक्राउ परेकाहरूको स्क्रिनिङ गरी थप अनुसन्धान अघि बढाएको छ।




































