
काठमाडौं, कात्तिक १५ । भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) नामक नयाँ स्टार्टअप प्लेटफर्मले नवप्रवर्तनशील सोच भएका नेपाली उद्यमीहरूलाई सहभागी हुनका लागि आवेदन खुला गरेको छ। यो पहलले नेपाल र भारतका स्टार्टअप इकोसिस्टमलाई जोड्ने उद्देश्यका साथ दुवै देशका युवा उद्यमीहरूबीच सहकार्य र नवाचार प्रवर्द्धन गर्न मद्दत गर्नेछ।
IN-SPAN अन्तर्गत भारतको प्रतिष्ठित आईआईटी मद्रास मा आठ हप्ते पूर्णरूपमा छात्रवृत्तिय ट्रेनिङ र इन्नोभेसन प्रोग्राम सञ्चालन हुनेछ। यो कार्यक्रम आईआईटी मद्रास प्रभावर्तक (IIT Madras Pravartak) सँग सहकार्यमा सञ्चालन हुने भएको छ, जसले हालसम्म ४६ वटा स्टार्टअप इन्क्युबेट गरी तीमध्ये १४ ले आफ्नो प्रविधि व्यावसायिक रूपमा सफलतापूर्वक व्यावहारिक बनाइसकेका छन्।
यस कार्यक्रमका सहभागीहरूले प्रत्यक्ष तालिम, विज्ञ परामर्श (मेंटोरशिप), र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्। यसमार्फत आफ्ना विचारहरूलाई व्यावसायिक परियोजनामा रूपान्तरण गर्न सहज हुनेछ।
यसअघि भारतस्थित नेपाली दूतावासले आयोजना गरेको पहिलो भारत–नेपाल स्टार्टअप कनेक्ट (२४ जनवरी २०२३) र दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भको कर्टेन रेजर (७ फेब्रुअरी २०२५) का सफल अनुभवका आधारमा सुरु गरिएको IN-SPAN कार्यक्रमले नेपाली स्टार्टअपहरूलाई भारतका प्रमुख नवाचार केन्द्रहरूसँग प्रत्यक्ष पहुँच दिने अवसर प्रदान गर्नेछ।
कार्यक्रमका लागि छनोट आवेदन र अन्तर्वार्ताका आधारमा प्रतिस्पर्धात्मक ढङ्गले गरिनेछ। आवेदन आजदेखि मंसिर १ गते (१५ नोभेम्बर २०२५) सम्म खुला रहनेछ। इच्छुक उद्यमीहरूले https://shorturl.at/Au8zh मा अनलाइन आवेदन दिन सक्नेछन्।






































