काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने धरौटीमा रिहा भइसकेका छन् ।
उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर भएपछि अब जिल्ला अदालत रुपन्देहीमा पनि सुनुवाइ हुनेछ । रुपन्देही अदालतले पनि धरौटी, थुना र साधारण तारेख मध्ये एक आदेश दिने छ ।