काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बाग्मती प्रदेशलाई १० रनले हराएको छ ।
कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बाग्मती १२ ओभर १ बलमा ५३ रनमा अलआउट भयो । बाग्मतीले २४ बलमा ७ विकेट गुमायो । बाग्मतीकी सबिका यादवले २०, विपिशा शाहीले नटआउट १२ रन बनाए । बाग्मतीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोशीकी ज्योति दनवार, रुबिना क्षेत्री र सङ्गीता राईले २/२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनायो । कोशीकी बिमला मलहाले नटआउट १९, कप्तान रुबिना क्षेत्रीले १५ रन बनाए ।
यो जीतसँगै कोशी २ अङ्क जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा छ । प्रतियोगितामा अहिले समूह बी कै त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश खेलिरहेका छन् । प्रधानमन्त्री कप महिला क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल शुरू भएको हो ।
समूह ए मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यो समूहबाट एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका छन् ।
सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।