काठमाडौं। मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बाग्मती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ’सुपर–फोर’ मा पुगेको छ ।
मधेशले दिएको ४१ रनको लक्ष्य बाग्मतीले ८० बलअघि नै ३ विकेट गुमाएर भेटायो । बाग्मतीकी यशु पाण्डेले १९ रन बनाइन् । मधेशकी रोजु कडरियाले २ विकेट लिइन् ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । मधेशका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बाग्मतीकी कञ्चन श्रेष्ठले ४ विकेट लिइन् ।
योसँगै ’सुपर–फोर’ समीकरण पूरा भएको छ । समूह ’बी’ बाट त्रिभुवन आर्मी क्लब पनि ’सुपर–फोर’ मा पुगेको छ । समूह ’ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ’सुपर–फोर’ मा पुगेका छन् ।
’सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ’सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।