काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ ।
न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बुधवार लामिछानेको बयान सकिएको अदालतका सुचना अधिकारी अनन्तराज मरासिनीले बताए ।
लामिछानेको बयान सकिएपनि थुनछेक बहस भने आज नहुने भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित भएका थिए ।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए । सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो । पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।
यसअघि लामिछानेले कास्की पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा समेत हाजिर भएका थिए । काठमाडौंको मुद्दामा पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।