जोडिनुहोस
  • होमपेज
  • दैजी–लिप्ना सडकः सात वर्षमा पाँच किमी सडक कालो पत्र

दैजी–लिप्ना सडकः सात वर्षमा पाँच किमी सडक कालो पत्र

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडक खण्डको पाँच किलोमिटरमा कालो पत्र गर्ने काम सकिएको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडक खण्डअन्तर्गत पाँच किलोमिटर कालो पत्र निर्माण गर्ने काम पूरा भएको हो ।

निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालो पत्र भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए ।

उनका अनुसार हालसम्म दैजी–लिप्ना सडक खण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ट र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।

‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,’ उनले भने, ‘त्यसैले निर्माणको काममा केही ढिलाइ भइरहेको हो ।’

उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । वि.सं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडक खण्डको पूर्णता नपाएको हो ।

पछिल्लो पटक वि.सं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो ।

दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेल्धुराको जोग बूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालो पत्र नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।

दैजी–लिप्ना सडकले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ । ‘वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालो पत्र हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,’ परशुराम नगरपालिका–९ का दिनेश बोहराले भने, ‘वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालो पत्र सडक भएर आवातजावत कहिले गर्न पाउँला ?’ उक्त सडकबाटै पर्यटकीय स्थल वेदकोट ताल पनि पुग्न सकिन्छ । पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालो पत्र भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका