
काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध तरिकाले अमेरिकामा बसेका हजारौं जनालाई फिर्ता पठाउने तयारी गरेपछि मेक्सिकोले विशाल आश्रयस्थलहरू बनाउन थालेको छ । ट्रम्पले हजारौं मेक्सिनलाई सामूहिक निर्वासन गर्ने संकेत पाएपछि सरकारले सिउडाड जुआरेज शहरमा पाल टाँगेर विशाल आश्रयस्थलहरू निर्माण गर्न थालेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
नगरपालिकाका अधिकारी एनरिक लाइकनले सिउडाड जुआरेजमा अस्थायी आश्रयस्थलमा हजारौं मानिस बस्न सक्ने क्षमताको हुने र केही दिनमै यो काम सकिने बताएका छन् । उत्तरी मेक्सिकोका ९ वटा शहरमा आश्रयस्थल र स्वागत केन्द्रहरू तयार पार्ने सरकारको योजना छ । यी आश्रयस्थलमा निर्वासनमा परेका मेक्सिकनहरूलाई खाना, अस्थायी आवास, चिकित्सा हेरचाह र परिचयपत्र प्राप्त गर्ने सुविधा पाउनेछन् ।
मेक्सिकोका नागरिकलाई स्वागत केन्द्रबाट आफ्नो गृहनगरमा फिर्ता लैजानका लागि विभिन्न नगरपालिकाहरूले बसको समेत व्यवस्था गर्ने तयारी गरेका छन् । मेक्सिको सरकारले सामूहिक निर्वासनको सम्भावनाका लागि तयार रहेको बताएको छ । मेक्सिकोले आफ्ना देशवासीहरूको हेरचाह र स्वदेश फर्केकाहरूलाई आवश्यक पर्ने सबै कुरा छुट्याउने आन्तरिक मन्त्री रोजा आइसेला रोड्रिगेजले बताएका छन् ।
ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन प्रयास गर्ने वाचा गरेका छन् । जसमा लाखौं आप्रवासीले अमेरिका छाड्नुपर्ने डर छ । मेक्सिकोको थिंक ट्यांक एल कोलेजियो डे ला फ्रन्टेरा नोर्टे (कोलेफ) ले गरेको अमेरिकी जनगणनाका तथ्यांकमा आधारित विश्लेषण अनुसार झन्डै ५० लाख जना मेक्सिकन संयुक्त राज्य अमेरिकामा विना अनुमति बस्दै आएका छन् ।
मध्य र दक्षिणी मेक्सिकोका केही भागका धेरै मानिसहरू हिंसा र गरिबीले ग्रस्त छन् । अमेरिकामा रहेका आठ लाख जना कागजातविहीन मेक्सिकनहरू मिचोआकन, गुरेरो र चिआपासका हुन् । जहाँ संगठित अपराधिक समूहहरू बीचको लडाइँले पछिल्ला वर्षहरूमा हजारौंलाई भाग्न बाध्य बनाएको छ ।