काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने छ ।
शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे छलफल भइरहेको छ ।
यस्तै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ ।
यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी सङ्गठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।
कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आआफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेको बताइएको छ ।
मधेश केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।