जोडिनुहोस
  • होमपेज
  • टायल उत्पादक कम्पनी लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

टायल उत्पादक कम्पनी लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौ । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन । कम्पनीले कुन परिमाणमा आइपीओ निष्कासन गर्ने भन्ने बारेमा खुलाएको छैन् ।

विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँट सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने कम्पनीको भनाई छ ।

लामिनार टायल नेपालको पहिलो र एक मात्र शतप्रतिशत भिट्रिफाइड टायल हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ । लामिनार टाईल्सले नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरकोे टायलहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरेको जनाएको छ । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त उद्योगमा ३ सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन।

लुम्बिनी सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने पहिलो उद्योग हो । लुम्बिनी सेरामिक्स ४ अर्ब लगानीमा सञ्चालनमा आएको हो । यसमा झण्डै ३ अर्ब रुपैयाँ विभिन्न बैंकले ऋण लगानी गरेका छन् । टायलमा आत्मनिर्भर बन्ने र विदेशी टायललाई विस्थापन गर्ने उद्धेश्यका साथ गत असोज १ गतेबाट लेमिनार टायल उत्पादन थालेको हो।

लुम्बिनी सेरामिक्सले विभिन्न आकारका टायल उत्पादन गरिरहेको छ । यी टायल करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध छन् । लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त छन् । उद्योगले दैनिक १ लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन गर्दै आएको छ । लुम्बिनी सेरामिक्सको उत्पादन ८० देखि २०० रुपैयाँ प्रति स्क्वायर फिटमा बिक्री भइरहेको छ । यो आयातित भन्दा २० प्रतिशत सस्तो भएको उद्योगको दाबी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका