काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर नियन्त्रणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले क्यान्सर निवारणका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले उपचारात्मक र निरोधात्मक उपायहरूको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै पाठेघरको क्यान्सरको समस्या गम्भीर रहेको धारणा व्यक्त गर े। उनका अनुसार सबैको सामूहिक प्रयासबाट मात्र यसको न्यूनीकरण सम्भव छ ।
मन्त्री पौडेलले क्यान्सरको रोकथामका लागि सरकार प्रतिबद्ध भए पनि आवश्यक स्रोत र साधनको अभाव रहेको स्वीकार गरेका छन् । सहकार्य र रणनीतिक पहलमार्फत क्यान्सर निवारण सम्भव रहेको उनले उल्लेख गरे । ‘क्यान्सर निवारणका लागि उपचार र रोकथाम दुबै क्षेत्रमा थप प्रयास आवश्यक छ । नेपालमा दिनहुँ चार महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण भइरहेको तथ्यांकले गम्भीर चुनौती औंल्याउँछ । त्यसैले, यसलाई न्युनिकरण गर्दै पूर्णरूपमा नियन्त्रण गर्ने हाम्रो लक्ष्य हुनुपर्छ,’ उनले भने ।
उनले पाठेघरको क्यान्सर रोकथामलाई प्राथमिकतामा राखी सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । स्रोत तथा साधनको अभावलाई सम्बोधन गर्दै सहकार्यको दायरा फराकिलो बनाउन सके क्यान्सर निवारणमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने मन्त्री पौडेलको धारणा छ ।