जोडिनुहोस
  • होमपेज
  • किन रोकियो ग्वार्को फ्लाइओभर निर्माणको काम ?

किन रोकियो ग्वार्को फ्लाइओभर निर्माणको काम ?

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । २०७८ फागुनमा सुरु गरिएको ओभरपास निर्माण परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको थियो ।

तर, हालसम्म पनि काम सम्पन्न भइसकेको छैन । झनै, पछिल्लो एक महिनादेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प छ । यसको मुख्य कारण निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाएको हो ।

यसअघि पनि बर्खायामका कारण भन्दै चार महिनासम्म निर्माण कार्य रोकिएको थियो । बीचमा केही प्रगति भए पनि गति अपेक्षाकृत थिएन । सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार पछिल्लो एक महिनायता निर्माण व्यवसायीले कुनै गतिविधि अघि बढाएका छैनन् ।

यस परियोजनाको नेतृत्व लिएको आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कार्य मुख्यतः रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । प्रारम्भिक सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्धारित म्याद गुज्रिसकेको हुँदा दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक म्याद २०८१ पुस ९ सम्म लम्ब्याइएको थियो । उक्त अवधिभित्र पनि निर्माण कार्य पूरा नभएपछि पुस १० बाट निर्माण व्यवसायीलाई जरिवाना लगाएर काम अघि बढाइएको थियो ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि जरिवानासहित निर्माण कार्य अघि बढाइएको थियो । तर, कामको गति अपेक्षाकृत रूपमा अघि नबढेको उनको भनाइ छ । उनले निर्माण कम्पनीहरूसँग आवश्यक छलफल भइरहेको र छिट्टै निर्माण कार्य पुनः सुरु हुने आशा व्यक्त गरे ।

यता, आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले निर्माण कार्य रोक्नुको जिम्मेवारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशनलाई दिएका छन् । उनका अनुसार केन्द्रका अधिकारीहरूले पहिल्यै परीक्षण भइसकेका कामहरूलाई बारम्बार दोहोर्याएर जाँच गर्न लगाएर निर्माण प्रक्रियामा अवरोध पुर्याएका छन् ।

मन्त्रालयमा सरुवा भएका पूर्वनिर्देशक प्रभातकुमार झाले भने आफूले काममा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । उनले भने, ‘गुणस्तर परीक्षण आवश्यक भएकाले केन्द्रले तोकेको मापदण्डअनुसार जाँच गर्न लगाइएको हो, नयाँ परीक्षण भने गराइएको छैन ।’

हालसम्म ओभरपास निर्माणमा ४४ करोड रुपैयाँ खर्च भइसकेको छ भने थप १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । अहिलेसम्म कुल ८२ प्रतिशत काम मात्र सम्पन्न भएको छ । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण भइरहेको यस ओभरपासका क्रममा विभिन्न प्राविधिक समस्याहरू देखिएका कारण काम पटक–पटक रोकिएको हो ।

५४० मिटर लामो यो ओभरपासमा आवतजावत सहज बनाउने संरचनाहरू निर्माण गरिँदैछ । छेउछाउमा कंक्रीट प्यानल र पोलिमर रेन्फोर्समेन्ट प्रविधि प्रयोग गरेर र्याम्प निर्माण गरिने योजना छ । तर, सातदोबाटोतर्फ निर्माण गरिएको ४० मिटर लामो र्याम्प पुनः झिकेर राख्नुपर्ने अवस्था आएको छ । आयोजनाका अनुसार केही निर्माण कार्यमा त्रुटि देखिएकाले पुनःसमस्या समाधान गर्नुपरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका