काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय चमतीमा बैठक बस्न लागको हो ।
भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ ।
रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा अस्वीकार गरियोस् भन्ने सूचना संसद् सचिवालयमा दर्ता गरिसकेको छ । भोलिको बैठकमा अहिलेसम्म भएका ६ वटा अध्यादेशको विषयमा कसले कस्तो प्रस्तुति गर्ने भन्नेबारे छलफल हुने छ ।
यस्तै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवा गर्न दिएको पत्रको सन्दर्भमा पनि कुराकानी हुने छ । लामिछानेले १८ गते सभामुखलाई आफ्नो सांसद पद निलम्बन गरिदिन आग्रह गर्दै पत्र बुझाएका छन् । सभामुखले अध्ययन गरेर जवाफ दिने बताएका थिए ।
रास्वपाले २४ गते हुने प्रतिनिधि सभामा पाथीभरा केवलकार विवादको विषयमा पनि उठाउने तयारी गरेको छ ।