जोडिनुहोस
  • होमपेज
  • अदालतमा उपस्थित हुन रवि लामिछाने चितवनमा, आजबाटै बयान थालिने

अदालतमा उपस्थित हुन रवि लामिछाने चितवनमा, आजबाटै बयान थालिने

चितवन। पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन चितवन पुगेका छन् ।

लामिछाने गए राति नै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । लामिछाने आज १० बजे नै चितवन जिल्ला अदालतमा उपस्थिति हुने बताइएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले लामिछाने चितवन अदालतमा उपस्थित भएपछि बयानबाट अदालती प्रक्रिया सुरू हुने छ । बयानपछि दुई पक्षको बहस हुनेछ भने लगत्तै थुनछेक आदेश आउने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो । योसँगै हालसम्म चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १२ जनालाई ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ भने लामिछाने सहित २० जनालाई ठगी मात्रै मुद्दा दायर गरिएको छ ।

रविका साझेदार जीबी राई र छविलाल जोशीलाई ठगी र संगठित अपराध दुवै कसुरमा मुद्दा दायर गरिएको छ । यस मुद्दामा जोडिएका धेरैजसो फरार छन् ।

हिजो दर्ता गरिएको मुद्दामा लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी‍ लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रहेकाहरूलाई अपचलन भएको रकमको सामूहिक बिगो माग दाबी समेत गरिएको छ ।

साहारा सहकारीको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि लामिछाने यस मुद्दामा जोडिए । यसअघि लामिछानेले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए। यसअघि पोखरा, काठमाडौं र बुटवलका सहकारी रकम अपचलन मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको थियो ।

साहारा सहकारीका पीडित बचतकर्ताले २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो । सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई सहित १७ जना विरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका