खेलकुद
महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः जितविहीन रहेको नेपाल पाँचौं खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै
![महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः जितविहीन रहेको नेपाल पाँचौं खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै](https://sagarmatha.tv/wp-content/uploads/2025/02/475809364_1057926426363737_7291199936864165071_n-1024x819.jpg)
काठमाडौं। घरेलु मैदानमा जारी महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पाँचौं खेल खेलिरहँदा नेपाल जितविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।
जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ । शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो । दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्यो ।
ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ । हिजो भएको खेलमा नेपालले थाइल्यान्ड विरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन् । इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो । शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।
यो शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन् । नेपाल तालिकाको पुच्छारमा छ । दोस्रो स्थानमा रहेको नेदरलयान्ड्सको चार खेलबाट चार अंक छ । बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।
चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ । थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । चोटका कारण अल राउन्डर कविता कुँवरले शृंखला गुमाउँदा नेपाललाई थप धक्का लाग्यो । उनलाई अन्डर नाइन्टिन टिमकी रचना चौधरीले रिप्लेस गरेकी छिन् । रचनाले थाइल्यान्ड विरुद्ध सिनियर टिममा डेब्यु गर्दै एक विकेट पनि लिइन् । लेफ्ट आर्म स्पिनर मनीषा उपाध्यायले चार खेलको तीन इनिङसमा सात विकेट लिँदै प्रभावकारी प्रदर्शन गरिरहेकी छिन् ।
खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।