काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
बैठकले सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने वा विपक्षमा रहने भन्नेबारे निर्णय लिने यादवको भनाइ छ ।
अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका यादवको नेतृत्वमा कार्यदल बनाएर मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ ।
कार्यदलले तयार गरेको प्रतिवेदन दलको आज बस्ने बैठकमा पेस गर्ने तयारी छ । संसदीय दलमा बुझाएपछि प्रतिवेदन सार्वजनिक गरिने यादवले बताए ।
सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभाबाट सजिलै पारित हुने अवस्था रहे पनि राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपालको समर्थन जरुरी छ ।
५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यादेश पारित गर्नका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन् । यस्तै, विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । ३ सदस्य रहेको जसपा निर्णायक रहेको छ । राष्ट्रियसभामा मनोनीत वामदेव गौतमले यसबारेमा केही खुलाएका छैनन् ।
आज प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।