
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शनिबार भवनको उद्घाटन गरेको दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरुको उपस्थिति थियो।
भारत सरकारको अनुदान सहयोगमा निर्मित भवनमा स्वास्थ्य चौकी र अन्य सम्बन्धित सुविधाहरु रहेका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत निर्माण गरिएको यो परियोजना नौगाड गाउँपालिका मार्फत कार्यान्वयन भएको हो।
भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यलाई उजागर गर्दै काउन्सिलर सिंहले उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको सहयोग रहने प्रतिबद्धता दोहोर्याएको दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।