![सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयोः महासचिव पोखरेल](https://sagarmatha.tv/wp-content/uploads/2024/10/sankhar--1024x698.jpg)
काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फिँजाउने काम भइरहेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त विधेयक सामाजिक सञ्जालको नियमन तथा दुरुपयोग र साइबर अपराध रोक्न ल्याइएको स्पष्ट पार्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजियो भन्दै भ्रम छर्ने काम भएको उल्लेख गरेका छन् ।
विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य भएको टिप्पणी गर्दै पोखरेलले यस्ता कुराप्रति नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।
महासचिव पोखरेलले विधेयकमा केही अस्पष्टता र सुधार गर्नु पर्ने देखिए संसद्ले सुधार गर्न सक्ने बताएका छन् ।
उनले साइबर अपराध इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगगरी गरिने विश्वव्यापी रुपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध रहेको भन्दै त्यस्ता गतिविधिको नियन्त्रण आवश्यक मात्र नभइ अपरिहार्य विषय रहेको जनाएका छन् ।