![अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान](https://sagarmatha.tv/wp-content/uploads/2023/02/amriso.jpg)
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।
त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । ‘गत वर्ष एक सय २५ मा बिक्री गर्याैँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ’, घिमिरेले भने ।
उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।
विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेस्की बुझाइसकेको बताए ।
एक किलो अम्रिसोबाट पाँच वटासम्म कुचो बनाउन सकिने र प्रति कुचो ७५ देखि एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा एक सय ६०, चितवनमा एक सय ९० र काठमाडौँमा दुई सयमा बिक्री गर्ने गरेको उनले बताए ।