![भारतमा सुरक्षाकर्मीसँगको भिडन्तमा ३१ माओवादी लडाकु मारिए](https://sagarmatha.tv/wp-content/uploads/2025/02/Indian-Army-1024x576.png)
काठमाडौं। भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा सुरक्षाकर्मीसँग भएको भिडन्तमा ३१ माओवादी लडाकु मारिएका छन् । घटनामा दुई सुरक्षाकर्मी समेत मारिएको र अन्य दुई जना घाइते भएको जनाइएको छ ।
माओवादी विरोधी कारबाही चलाइरहेको सुरक्षाकर्मीको टोली र माओवादीबीच इन्द्रावती राष्ट्रिय निकुञ्ज क्षेत्रको घना जंगलमा भिडन्त भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट हातहतियार र विस्फोटक पदार्थ पनि फेला परेका छन् ।
भारतको छत्तिसगढ, आन्धप्रदेश,केरल, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना र पश्चिमबंगाल यी नौ राज्यका ३८ जिल्ला माओवादी प्रभावित क्षेत्रका रूपमा छन् । नक्सलवादी समेत भनिने माओवादी प्रभावित क्षेत्रलाई लाल क्षेत्र वा रड कोरिडोर भनिन्छ ।
यीमध्ये छत्तिसगढ माओवादीबाट सबैभन्दा प्रभावित राज्य हो । भारतमा सन् १९६७ मा पश्चिम बंगालको दार्जीलिङ जिल्लाको नक्सलबाडी गाउँबाट माओवादी सशस्त्र विद्रोहको प्रारम्भ भएको थियो ।