
सिरहा। सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट ६ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।
देवीदह सामुदायिक वनभित्र पर्ने ६ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर पहल गरे तापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।
‘यो दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरूको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधी हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरू जीर्ण छन् भने कतिपय अधुरै छन् ।’
उनका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले बताए । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगायतका काम भएको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिए । नगरले आफ्नो तर्फबाट बेहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टी खोलादेखी देवीदहसम्मको ६ किलोमिटर सडक कालोपत्र, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, स्वीमिङ पुल लगायतका संरचना अघि बढ्न नसकेको उनको भनाई छ । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उनले गुनासो गरे ।