![कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ](https://sagarmatha.tv/wp-content/uploads/2024/05/rape-raped-by-teacher-630x400-1.webp)
धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।
२६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय अर्का किशोर रहेका छन् ।
पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएको थिइन् । लगत्तै इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई चक्कु देखाएर युवकले जबरजस्तीकरणी गरेका थिए । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।