![अमेरिकी राष्ट्रपति ट्रम्प र जोर्डनका राजा अब्दुल्लाहबीच भेटवार्ता](https://sagarmatha.tv/wp-content/uploads/2025/02/thumb-91.jpg)
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जोर्डनका राजा किंग अब्दुल्लाहबीच हृवाइट हाउसमा भेटवार्ता भएको छ ।
ओभल अफिसमा किंग अब्दुल्लाह सँगै बसेर पत्रकारहरूलाई संक्षिप्त मन्तव्य दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाले गाजालाई आफ्नो नियन्त्रणमा लिने र विस्थापित प्यालेष्टिनीलाई जोर्डनले शरण दिने आफ्नो योजना दोहोर्याएका थिए।
किंग अब्दुल्लाहले भने ट्रम्पको उक्त भनाईप्रति कुनै प्रतिक्रिया नजनाइ मौन थिए । जोडर्नले यसअघि नै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने भन्दै ट्रम्पको उक्त योजनालाई अस्वीकृत गरिसकेको छ ।
ट्रम्पले केही दिनअघि मात्रै गाजालाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिने, त्यहाँका करीब २३ लाख प्यालेष्टिनीलाई जोर्डन, इजिप्ट लगायतका अरब मुलुकमा पुनः स्थापित गर्ने र गाजालाई मध्यपूर्वको बिदा मनाउने स्थलका रुपमा पुनःनिर्माण गर्ने विवादास्पद योजना अघि सार्नु भएको थियो ।
प्यालेष्टिनीहरुलाई लिन स्वीकार नगरे जोर्डन र इजिप्टलाई अमेरिकाले दिँदै आएको सहायता रोक्न सक्ने चेतावनी समेत ट्रम्पले दिएका थिए । ट्रम्पको उक्त घोषणापछि जोर्डनका राजा र उनीबीच भएको यो पहिलो भेटवार्ता हो ।
जोडर्न मध्यपूर्वमा अमेरिकाको एक प्रमुख साझेदार देश हो भने यहाँ पहिलेदेखि नै हजारौं विस्थापित प्यालेष्टिनीका साथै सिरियाली शरणार्थीपनि बस्दै आएका छन् । आर्थिक तथा सैन्य सहयोगकालागि जोर्डन अमेरिकामा ठुलोमात्रामा आश्रित रहँदै आएको छ ।
ट्रम्पसँगको भेटवार्तापछि किंग अब्दुल्लाहले प्यालेष्टिनीको विस्थापनको विपक्षमा जोडर्नको स्पष्ट अडान रहेको बताएका छन् । थप प्यालेष्टिनी शरणार्थीलाई आश्रय दिने सम्बन्धमा किंग अब्दुल्लाहले जोर्डनले २ हजार अस्वस्थ प्यालेष्टिनी बालबालिकालाई लिन सक्ने बताएका थिए ।
ट्रम्पसँगको भेटवार्तापछि एक्समा पोष्ट गर्दै किंग अब्दुल्लाहले ट्रम्पसँगको आफ्नो वार्तालाप रचनात्मक भएको तर ट्रम्पको प्रस्तावप्रति आफ्नो देश चिन्तित रहेको उल्लेख गरेका छन् । प्यालेष्टिनीलाई विस्थापित नगरिकनै गाजाको पुनःनिर्माण र त्यहाँको मानविय स्थितिको सम्बोधन सबैको प्राथमिकता हुनु पर्ने उनले उल्लेख गरेका छन्।