देश
ललितपुर महानगरपालिका र कोरियाली विश्वविद्यालयबीच समझदारीः ललितपुरमा स्टार्टअप हब स्थापना हुने
![ललितपुर महानगरपालिका र कोरियाली विश्वविद्यालयबीच समझदारीः ललितपुरमा स्टार्टअप हब स्थापना हुने](https://sagarmatha.tv/wp-content/uploads/2025/02/8c7d201c-08c0-413a-ac38-c861c60e87d0.jpg)
काठमाडौं। ललितपुर महानगरपालिका र दक्षिण कोरियाको ग्योङसाङ नेशनल युनिभर्सिटीबीच ललितपुरलाई स्टार्टअप हबका रूपमा विकास गर्ने समझदारी भएको छ । “स्टार्टअप एण्ड इन्ट्रप्रेन्योरशिप सिम्पोजियम २०२५“ को पहिलो दिन मंगलबार भएको उक्त हस्ताक्षर कार्यक्रममा नेपाल र कोरियाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
ललितपुरलाई स्टार्टअप हब बनाउने लक्ष्य
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले ललितपुरलाई स्टार्टअप र नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य रहेको बताएकी छन् । कार्यक्रममा उपमेयर शाक्यले स्टार्टअप प्रवद्र्धन गर्न महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरेकी थिइन । उनले नेपालमा रोजगार सिर्जना गर्दै युवा पलायन रोक्ने रणनीति आवश्यक रहेकोमा जोड दिएकी थिइन । यो सम्झौताको मुख्य उद्देश्य नेपालका युवा उद्यमीहरूलाई आवश्यक स्रोत, तालिम, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नु रहेको छ ।
कोरियाको अनुभव नेपाललाई उपयोग गर्न सुझाव
कार्यक्रममा दक्षिण कोरियाको ग्योङसाङ नेशनल युनिभर्सिटीका डिन डा. डे युल जियोङले कोरियाको उद्यमशीलता विकास यात्रा साझा गर्दै नेपालले त्यसबाट सिक्न सक्ने बताएका थिए । उनले कोरियाको ग्रीन स्टार्टअप टाउनको सफलताबारे चर्चा गरेका थिए । उनका अनुसार, १०० वर्षअघि कोरिया र नेपालको आर्थिक अवस्था उस्तै भए पनि कोरियाको उद्यमशीलता केन्द्रित नीतिले राष्ट्रलाई अघि बढाएको आधारहरु देखाएका थिए । त्यसैले, नेपालले पनि स्टार्टअप संस्कृति विकसित गरेर दिगो आर्थिक समृद्धि हासिल गर्न सक्ने कुरा उनले उल्लेख गरेका थिए ।
कोरियाली राजदूतको प्रतिबद्धता
नेपालका लागि कोरियाली राजदूत पार्क ताए–योङले कोरियाले नेपालमा स्टार्टअप प्रवद्र्धन गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले कोरियाली आर्थिक विकासको प्रमुख आधार उद्यमशीलता रहेको उल्लेख गर्दै नेपालका युवाहरूलाई व्यवसाय विकासतर्फ लाग्न प्रेरित समेत गरेका थिए ।
युथ थिंकर सोसाइटी मार्फत स्टार्टअप प्रवद्र्धन
यस सम्झौता अनुसार युथ थिंकर सोसाइटीले ललितपुर महानगरपालिकासंगको समन्वयमा स्टार्टअप र इनोभेसन सेन्टर स्थापना गर्न सहयोग गर्ने छ यस अन्तर्गतः
- नेपाल–कोरिया संयुक्त उद्यमशीलता अनुसन्धान, तालिम, र नवप्रवर्तन कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- नेपाली विद्यार्थीहरूका लागि कोरियामा उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- ललितपुरमा स्टार्टअप हब निर्माणका लागि आवश्यक स्रोत र प्रविधि हस्तान्तरण गरिनेछ ।
कार्यक्रमकै दौरान “ग्लोबल पार्टनरसिप फर लोकल सक्सेस“ विषयक प्यानल छलफल पनि भएको थियो । जसमा ललितपुर महानगरपालिका, दक्षिण कोरियाको ग्योङसाङ नेशनल युनिभर्सिटी, र सामसुङ नेपालका निर्देशक सहभागी थिए ।
उक्त समझदारीले नेपालको स्टार्टअप इकोसिस्टमलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने, युवालाई व्यवसायिक सोचको विकास गर्न सहयोग गर्ने, र रोजगारी सिर्जना गर्दै नेपाललाई उद्यमशीलताको गन्तव्य बनाउने लक्ष्य राखेको आयोजकले बताएका छन्