![‘बालबालिकाको सर्वाङ्गीण विकासमा राज्य र परिवारको भूमिका अपरिहार्य’](https://sagarmatha.tv/wp-content/uploads/2025/02/prakashman-2-1024x768.jpg)
हेटौँडा। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई बिहीबार सम्बोधन गर्दै उपप्रधानमन्त्री मन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले परिवारबाट बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने धारणा राखे ।
बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गर्नुपर्ने पनि सिंहले बताए ।
उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले बालमैत्री नगर घोषणासँगै यसको दिगोपनमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ,’ मन्त्री सिंहले भने, ‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ ।’