
काठमाडौं । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
उनको पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनको अहिले कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।
उनको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले बाह्रखरीलाई जानकारी दियो ।
पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री विष्णु पौडेलसँगै पोखराका मेयर धनराज आचार्य पनि घाइते भएका थिए । आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ ।