
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै साढे ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डौको तारकेश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन् ।
अधिकारीले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई काठमाण्डौ महानगरपालिका–२६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।