
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको पनि उनले स्मरण गराएका छन् । तर अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप पनि आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा लगाएका छन् ।
प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए । उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।
‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र रु’, उनले भने, ‘अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ पार्टी फुटाउन ल्याउन लागियो भनेर । कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’
प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गरे । ०८० वैशाख २० गते संसद् अधिवेशन आह्वान हुनु चार दिनअघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे ।
‘२०८० वैशाख २० गते सम्झिन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिनअघि अध्यादेश ल्याएको थियो,’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने त्यो बेग्लै कुरा भयो ।’