
प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।
यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो । अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।
‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।